वर्तमान राजनीतिक परिवेशमा केपी शर्मा ओलीको विकल्प छैन : नेता चौधरी
फाइल फोटो
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नै केपी शर्मा रहेको दाबी गरेकी छिन् । आजदेखि काठमाडौँमा सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले त्यस्तो बताएकी हुन् ।
उनले ओली पछिको नेतृत्व कसले लिने, कसरी लिने भन्ने कुरा समयले निर्धारण गर्ने समेत बताइन् । पार्टीलाई एकताबद्ध र समृद्ध बनाउन सबै एक ठाउँमा उभिएर नेतृत्वबाटै अगाडी बढ्न उनले आग्रह गरिन् ।
नेता चौधरीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन किन अनुपयुक्त हुने तर्क दिएकी छन् । संवैधानिक मर्यादा र परम्परामा नेपालको संविधानले पूर्व राष्ट्रपतिलाई कुनै राजनीतिक दलको सक्रिय भूमिकाबाट अलग रहने अपेक्षा राखेको बताउँदै उनले भनिन्, 'उहॉं लामो समयसम्म एमाले पार्टीमा क्रियाशील रहनुभयो । एमालेको उपाध्यक्ष समेत भइसक्नुभएकी उहाँ खासगरी महिला राजनीतिज्ञकाका आधारशिलाको रूपमा प्रभावशाली छवि बनेको छ भने उहाँसँग जननेता स्व. मदन भण्डारीको लिगेसी बोकेको त हुनुहुन्छ भन्ने कुरामा दुई मत छैन । तर, जनताको बहुदलीय जनवाद अनुरूप समाजवादको रोडम्याप तयार गर्ने सामर्थ्यमा प्रश्न उठ्न सक्छन् ।'
कानुनी रूपमा स्पष्ट निषेध नभए पनि राष्ट्रको प्रमुख पदमा रही सकेपछि राजनीतिक निरपेक्षता अपेक्षित हुने नेता चौधरीको भनाई छ । 'विश्वव्यापी रूपमा पनि अधिकांश पूर्व राष्ट्रपतिहरू सार्वजनिक जीवनमा रहेपनि सक्रिय राजनीतिक प्रतिस्पर्धामा फर्कँदैनन् । यसले उनीहरूको गरिमा र निष्पक्षताको छवि जोगाउँछ', प्रतिनिधि सभाको सदस्य समेत रहेकी चौधरीले तर्क दिइन्, 'पूर्व राष्ट्रपतिज्यू राष्ट्रपति हुँदाखेरी नेकपा एमालेप्रति मोह निष्पक्षताको आरोप लागि रहेको थियो । यदि उहाँ पुनः सक्रिय राजनीतिमा फर्किएमा उहाँले राष्ट्रपतिका रूपमा लिएको छवि र निष्पक्षताको प्रश्न: निर्णयहरूप्रति पुनः प्रश्न उठ्न सक्छ र पार्टी अर्थात् नेकपा एमालेको विभाजनकारी बन्न सक्छ ।'
संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता संवैधानिक मूल्यहरू जोगाउनुपर्ने भन्दै उनले अहिलेको गणतन्त्र विरोधीहरू सक्रिय भइरहेको अवस्थामा राजावादी, प्रतिगामी तत्त्वहरूबाट लगातार प्रहार भइरहेको परिप्रेक्ष्यमा पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु वर्तमान व्यवस्थाप्रति प्रत्युत्पादक हुने समेत बताइन् । भण्डारीको राजनीतिक पुनरागमनले सङ्घीय लोकतान्त्रिक व्यवस्था, वर्तमान संविधान र धर्मनिरपेक्षता विरोधीहरूलाई प्रोत्साहन मिल्ने उनको भनाई छ ।
'संविधानको मर्म विपरीत पूर्व राष्ट्रपति जानुहुन्न । पछिल्लो समय वर्तमान संविधान, गणतन्त्र, संघीयता, यो अवस्थाले वर्तमान राजनीतिक दलहरू प्रति नयाँ पुस्तामा नैराश्यता, अविश्वास झनै बढ्ने छ', नेता चौधरीले भनिन्, 'पूर्व राष्ट्रपति नेतृत्वमा फर्कने बित्तिकै कम्युनिस्ट शक्तिको पुनोर्दय, राजनीतिमा फर्कनु संवैधानिक, नैतिक र राजनीतिक दृष्टिले अवसर हैन जटिलता थपिन्छ । एकीकरण सम्भव देखिँदैन ।'