४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

झापाबाट काठमाडौँ फर्किए केपी ओली

फाइल फोटो

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र (झापा–५)का मतदातासँग भेटघाट सकेर बिहीबार (माघ २९) काठमाडौं फर्किएका छन्।
गत माघ २३ गतेयता अधिकांश समय मतदाताको घरदैलोमा बिताएका ओलीले यो बीचमा झापा–५ मा पर्नै गौरादह, गौरीगञ्ज र कमल गाउँपालिकाका मतदातासँग प्रत्यक्ष भेटघाट गरे। चुनावी घोषणापत्र तयारीका सिलसिलामा ओली बिहीबार दिउँसो भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएको एमाले केन्द्रीय सदस्य तथा सञ्चार उपसमिति संयोजक इन्द्र भण्डारीले जानकारी दिए।
मतदाता भेटघाटका क्रममा ओलीले कमल गाउँपालिका र गौरादह नगरपालिकामा दुई–दुई दिन बिताएका थिए । एक दिन गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडाहरू पुगेर मतदाताको गुनासो सुन्नुका साथै कतिपय राष्ट्रियस्तरका मुद्दाका विषयमा जवाफ दिएका थिए।
अघिल्ला निर्वाचनहरूमा आफ्नो क्षेत्रमा खासै समय नदिने ओलीले यो पटक भने निर्वाचन क्षेत्रलक्षित भेटघाटलाई बाक्लो पारेका छन्। उक्त क्षेत्रमा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)को उमेदवारीले चुनौती महसुस गरेका ओलीले यो पटक भने मतदाताको घरदैलोमै पुग्ने अठोट गरेका हुन्। 
पछिल्लो एकसाता झापामा समय बिताएका उनले यसपटक दमक नगरपालिका क्षेत्रका मतदातालाई भने भेट्न पाएनन्। चुनावी घोषणापत्र तयारीका लागि हतारमा काठमाडौं जानु परेकाले यो पटक दमकका मतदातासँग भेट्न समय नमिलेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए। 
घोषणापत्र तयार गरेर ओली फागुन ३ या ४ गते नै झापा फर्कने कार्यक्रम रहेको र त्यस बेला दमकका मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको दाहालले जानकारी दिएका छन्। आउँदो फागुन ७ गते एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। 
२०४८ सालयता भएका हरेक संसदीय निर्वाचनमा झापाबाट चुनाव लड्दै आएका ओलीले २०६४ सालको पहिलो संविधानसभा चुनावबाहेक पराजय भोग्नुपरेको छैन। २०६४ सालको निर्वाचनमा भने माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। ओलीको यो आठौँ संसदीय प्रतिस्पर्धा हो। 
निर्वाचनको मिति नजिकिँदै जाँदा झापा–५ ले धेरैको ध्यान तानेको छ। खासगरी पूर्वप्रधानमन्त्री ओली र काठमाडौं महानगरपालिकाका निवर्तमानमेयर शाहबीचको प्रतिस्पर्धाले यसपटक झापाको यो क्षेत्रले इपिसेन्टरका रूपमा चर्चा बटुलेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्