राष्ट्रिय सभाको १९औँ अधिवेशन समापन, सभाले अभिभावकीय भूमिका निर्वाह गरेको छ: अध्यक्ष दाहाल
तस्बिरः अध्यक्ष दाहालको सचिवालय
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको १९औँ अधिवेशन समापन भएको छ। बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसाबले छोटो भएपनि कामको हिसाबले निकै महत्त्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताए।
अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचनको संघारमा देशभर चुनावी माहौल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गरेको उल्लेख गरे।
यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ। पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ।
यस्तै, अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ। यसैगरी मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन्। सरकारले भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ।
२७ दिन चालु रहेको यो अधिवेशनमा कुल ९ वटा बैठकहरू बसेका थिए। कुल १७ घण्टा २५ मिनेट समय सभाको काममा व्यतीत भएको छ। यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गरेका थिए।